गृहपृष्ठ Featured कपिलवस्तु-१ : समृद्धि र रोजगारी सिर्जनाको एजेन्डासहित चौधरी जनताको घरदैलोमा

कपिलवस्तु-१ : समृद्धि र रोजगारी सिर्जनाको एजेन्डासहित चौधरी जनताको घरदैलोमा

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद चौधरी यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मायादेवी गाउँपालिकाका विभिन्न वडामा सक्रिय रूपमा मतदाता भेटघाटमा जुट्नुभएको छ।

घरदैलो कार्यक्रममार्फत उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको छ। मतदातासँगको अन्तरक्रियामा चौधरीले दीर्घकालीन विकासका स्पष्ट योजना र प्रतिबद्धतासहित अघि बढ्ने विश्वास दिलाउनुभयो।

उहाँले किसानको समृद्धिसँगै देशको समग्र प्रगति सम्भव रहेको धारणा राख्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो। “राजमार्गदेखि गाउँसम्म दुई लेन सडक विस्तार, जगदिशपुर जलाशयबाट सिँचाइको दायरा बढाउने, कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार गर्ने हाम्रो मुख्य प्राथमिकता हो,” उहाँले भन्नुभयो।

चौधरीले “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने उद्घोषसहित युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सार्नुभएको छ। कृषि आधुनिकीकरण, साना तथा लघु उद्यम प्रवर्द्धन, सीपमूलक तालिम विस्तार तथा सामाजिक न्याय सुनिश्चित गर्दै उत्पादन र रोजगारी दुवै क्षेत्रमा सुधार ल्याउने उहाँको प्रतिबद्धता रहेको छ।

त्यसैगरी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवासको व्यवस्था, स्वच्छ खानेपानी र आधारभूत सेवाको पहुँच विस्तारमा विशेष पहल गर्ने उहाँले उल्लेख गर्नुभयो।

घरदैलोका क्रममा मायादेवी गाउँपालिकावासीले सडक स्तरोन्नति, प्रभावकारी सिँचाइ व्यवस्था, सहज स्वास्थ्य सेवा पहुँच र स्थानीय स्तरमै रोजगारी सिर्जनालाई प्रमुख चासोका विषयका रूपमा उठाएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै उम्मेदवार चौधरीले संविधान र कानुनको दायराभित्र रही पारदर्शी, उत्तरदायी र जनमुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानका क्रममा उम्मेदवार चौधरी घरघरमा पुगेर ज्येष्ठ नागरिक, महिला तथा युवासँग आत्मीय संवाद गर्दै विकासका एजेन्डाबारे जानकारी गराउँदै देखिनुभएको छ।

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मायादेवी गाउँपालिकावासीसँग अपिल गर्नुभएको छ।

सम्बन्धित् समाचार