पाकिस्तानी सेनाले आइतबार बिहान अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको छ।
अल-जजिराका अनुसार, पाकिस्तानी सेनाले तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सात शिविर र लुक्ने ठाउँमा हमला गरिएको दाबी गरेको छ।
पाकिस्तान सरकारले हालैका आत्मघाती आक्रमणको जवाफमा हमला गरिएको बताएको छ।
सूचना तथा प्रसारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो एक गुप्तचर-आधारित अपरेसन भएको उल्लेख गरेको छ।
पाकिस्तानले भनेको छ, ‘आक्रमण अफगान भूमिबाट सञ्चालन हुने नेटवर्कद्वारा गरिएको भन्ने कुराको बलियो प्रमाण हामीसँग छ।’
अफगान मिडिया आउटलेट टोलो न्युजका अनुसार, नान्गारहारको एक घरलाई निसाना बनाएर आक्रमण गरिएको थियो, जहाँ एकै परिवारका २३ सदस्य भग्नावशेषमुनि पुरिएका थिए। आक्रमणका बेला उनीहरू सुतिरहेका थिए।
अमेरिकी मानव अधिकार संगठन अन्तर्राष्ट्रिय मानव अधिकार फाउन्डेसन (आईएचआरएफ) का अनुसार हमलामा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको छ। यद्यपि आधिकारिक तथ्यांक अझै जारी गरिएको छैन।









