इरानसँग जारी युद्धका बिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गर्दै आफू जीवित रहेको जानकारी गराएका छन्।
यस क्रममा उनले आफूहरूले जारी युद्ध जित्दै गरेको दाबी पनि गरेका छन्।
पत्रकार सम्मेलनमा उनलेे भने, ‘म अझै जीवित छु र हामी यो युद्ध जित्दैछौँ।’
उनले इरान विनाशतर्फ अघि बढिरहेको चेतावनी पनि दिए।
नेतन्याहुले थपे, ‘हामीले २० दिनको युद्धमा सफलता हासिल गरेका छौँ।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ।
यसबिच इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।
इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।






