गृहपृष्ठ Featured कपिलवस्तुमा १ करोड ६५ लाख हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ

कपिलवस्तुमा १ करोड ६५ लाख हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ

तौलिहवा ।

कपिलवस्तुमा बैंकिङ कसुर सम्बन्धी मुद्दामा एक जना बैंक कर्मचारी पक्राउ परेका छन्। मायादेवी गाउँपालिका–१ पकडीस्थित २८ वर्षीय रिशभ कार्कीलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

एनआइएमबी बैंक तौलिहवा शाखामा कार्यरत कार्कीलाई ग्राहकहरूको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्कीले विभिन्न मिति तथा समयमा बैंकिङ प्रणालीमा अनाधिकृत रूपमा प्रवेश गरी केही ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेका थिए। त्यसपछि आफ्नै प्रयोगमा रहेको मोबाइल नम्बर खातामा लिंक गरी मोबाइल बैंकिङ तथा कनेक्ट आइपिएसमार्फत हुने ट्रान्जेक्सनको अलर्ट नआउने व्यवस्था मिलाएका थिए।

यसरी उनले १६ जना ग्राहकहरूको खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका कार्कीविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत तुल्सिपुर, बुटवल इजलासबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले सबै सेवाग्राहीलाई आफ्नो बैंक खातामा प्रयोग भइरहेको मोबाइल नम्बर तथा मोबाइल बैंकिङ विवरण एकिन गर्न र सतर्क रहन आग्रह गरेको छ।

प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले यस्ता घटनाबाट जोगिन सचेतना अपनाउन सबैलाई अनुरोध गरेका छन्।

सम्बन्धित् समाचार