वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.६ मा आयोजित टोल स्तरीय वडा कप क्रिकेट प्रतियोगिताको उपाधि लक्ष्मणघाट टिमले जितेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्मणघाटले भगलापुर टोललाई पराजित गर्दै उपाधि हात पारेको वडा सचिव पुष्कर भुसालले जानकारी दिए ।

निर्धारित १२ ओभरको खेलमा लक्ष्मणघाटले १६४ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। टिमका लागि राज खत्रीले सर्वाधिक रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिएका थिए। १६५ रनको लक्ष्य पछ्याएको भगलापुर टोल भने निर्धारित ओभरमा लक्ष्य पूरा गर्न नसक्दा उपविजेतामै सीमित रह्यो।
उपाधि विजेता लक्ष्मणघाट टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै, उपविजेता भगलापुरले १० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टिमले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा वडा भित्रका ६ टोलका ९ टिमको सहभागिता रहेको थियो, जसले खेललाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको आयोजकले जनाएको छ।
वडा अध्यक्ष करुण टण्डनले यस्ता खेलकुद कार्यक्रमले युवाहरूमा अनुशासन, सहकार्य र स्वास्थ्यप्रति सचेतना बढाउने बताउँदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले वडा स्तरमै खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्न प्रतियोगिता महत्वपूर्ण माध्यम बन्ने धारणा राखे।








