सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा बेमौसमी तरकारी खेती तालिम तथा बिउ बिजन वितरण कार्यक्रम सुरु भएको छ । वडा नंं.७ को आयोजनामा भएको उक्त कार्यक्रम सोमबार एक कार्यक्रमकाबीच सुरु भएको वडा सचिव सन्तोष कुमार बैठाले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम मंगलबार सम्पन्न हुने छ ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष विष्णु गिरीले भौतिक विकास मात्र विकास नभएको बताउँदै भने, ‘वडावासीको आन्तरिक क्षमता, सिप अभिवृद्धि गर्नु पनि विकासको एक आधार हो ।’ उनले परम्परागत रुपमा गर्दै आएको कृषिलाई परिमार्जित गर्नुपर्ने बताए । कृषिलाई आधुनिकिकरणमा जोड्दै व्यवसायिक कृषिबाट समृद्धि हासिल गर्न सकिने उनको भनाई छ ।
उनले कृषिमा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्न वडा र नगरले बर्षेनी अनुदान दिदैं आएको बताए । अधिकांश वडावासी कृषिमा आश्रित रहेको बताउँदै उनले भने, ‘जसोतसो जीवन निर्वाह गर्न मिश्रित रुपमा कृषि गर्दै आएका छौं । त्यसैले पर्याप्त उत्पादन दिन सकेका छैनौं ।’ उनले कृषिबालीमा लाग्ने विभिन्न रोगहरुको घरेलु रुपमै औषधी बनाएर समेत कम खर्चमा उपयोग गर्न सकिने बताए ।
उनले कृषि तथा बिउविजन सम्बन्धी सम्पुर्ण जानकारी दिलाउन कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रमको सही तरिकाले लाभ लिन सहभागीहरुलाई आग्रह गरे ।
७० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीले प्रशिक्षण दिएका थिए ।
वडा सदस्य पार्वती सुनारको स्वागत मन्तव्य रहेको उक्त उद्घाटन कार्यक्रम वडा सचिव सन्तोष कुमार बैठाले गरेका थिए ।








