गृहपृष्ठ Featured थाइल्याण्डदेखि लुम्बिनीसम्म ८ सय ९४ किमि पैदल यात्रा

थाइल्याण्डदेखि लुम्बिनीसम्म ८ सय ९४ किमि पैदल यात्रा

मनोज पौडेल

कपिलवस्तु- कम्बोडियाका ३३ वर्षे धुताङगधारी भिक्षु फ्रा ख्रुले ८ सय ९४ किमि पैदल यात्रा पूरा गरेका छन् । चिबर लगाएर खाली खुट्टा थाइल्याण्डदेखि लुम्बिनीसम्म उनले पैदल यात्रा गरेका हुन् । उनीजस्तै १९ थाई धुताङगधारी भिक्षु र एक उपासिकाले पनि थाइल्याण्डदेखि नेपालसम्म पैदल यात्रा पूरा गरेका छन् ।

उनीहरुको यात्रालाई ‘शान्ति धम्म यात्रा’ नाम दिइएको छ । गत साता लुम्बिनीसम्मको यात्रा पूरा गरी अहिले उनीहरु बस चढेर भारतका विभिन्न बुद्धस्थलको भ्रमणमा निस्केका छन् ।

थाइल्याण्डका १० विभिन्न जिल्लाका १९ भिक्षु र कम्बोडियाका एक भिक्षु शान्तिको सन्देश फैलाउँदै थाइल्यान्डबाट पैदल यात्रामा निस्केका थिए । नेपालको ४ सय २५ किमि पैदल यात्रा उनीहरुले १९ दिनमा पूरा गरेका थिए भने थाइल्याण्डको ४ सय ६९ किमि यात्रा एक महिना लगाएर पूरा गरेका हुन् । विदेशी भिक्षुको शान्तिप्रतिको लगाव र निष्ठा देखेर दुई नेपाली भिक्षु पनि पैदल यात्रामा सहभागी भएका थिए ।

फरक हावापानी र छुट्टै परिवेश । खेतका कान्ला, गरा र गोरेटो बाटो, पहाडको उकाली ओराली छिचोल्दै उनीहरु तराईको समथर फाँटसम्म पैदलयात्रा गर्दै कपिलवस्तुको तिलौराकोट पुगेका थिए । थाइल्यान्डको पठमथानी जिल्लामा रहेको वाटठेट महाविरो विहारका भिक्षु अचाननाथ नन्दीको नेतृत्वमा भिक्षु र उपासिका पोखराको नदीपुरबाट बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आइपुगेका हुन् ।

नदीपुरबाट पोखराको ८ किमि पश्चिम दक्षिण पुम्दीभुम्दीको अनदुडाँडामा रहेको विश्वशान्ति स्तुप पुगेपछि त्यहाँबाट स्याङ्जाको फेदीखोला, वालिङ, मालुङगा हुँदै तानसेन पुगे । तानसेनबाट रुप्सेको बाटो हुँदै बुद्धको मावली मानिने रुपन्देहीको देवदहमा पूजाआजा गरी बुद्धको अस्तुधातु राखिएको पश्चिम नवलपरासीको रामग्राम पुगे । त्यहाँबाट भैरहवा हुँदै लुम्बिनी पुगेर मायादेवी मन्दिरमा पूजाआजा गरे । लुम्बिनीबाट बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आमाबुवासँग भेटघाट गरेको स्थल निग्रोधारामा गए । त्यहाँ पुजाआजा गरे । त्यसपछि भारतीय सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा बनाएको अशोक स्तम्भ पुगे ।

कनकमुनि बुद्धको सहर अरौराकोट पुगे । यहाँबाट राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएको ठाउँ तिलौराकोट (प्राचीन कपिलवस्तु) पुगेर यात्रा सम्पन्न भएको बताएका छन् । त्यसअघि २० जनवरीमा काठमाडौं आएका उनीहरु बौद्धनाथ, स्वयम्भूनाथ दर्शन गरेका थिए । पाटनका विभिन्न चैत्य, कीर्तिपुर हुँदै चन्द्रागिरी पुगेका थिए । चन्द्रागिरीबाट पैदल यात्रा थाल्न उनीहरु बसमा पोखरा गएका थिए ।

करिब ९० दिनको यात्रामा निस्केका उनीहरु ३० दिन थाइल्यान्डमा पैदल यात्रा गरे । त्यहाँको छयाङखान जिल्लाको फुनोई समारवी थाम मोनाष्ट्रीबाट सुरु गरेको पैदल यात्रा थालेका उनीहरुले वाङनाम ख्वाव जिल्लामा रहेको लोई वारपाश्रीरी फो खाम मोन्क्रतिङ मोनाष्ट्री पुगेर सकेका थिए । भारतका १० बौद्ध तीर्थस्थल भ्रमण सकेर उनीहरु मार्च १ मा थाइल्याण्ड फर्केर यात्रा सकिने बताएका छन् । ‘ठाउँठाउँमा नेपालीको अतिथ्यता र सद्भावले मन छोयो,’ भिक्षु अचाननाथ नन्दीले भने, ‘जति बखान गरे पनि कम हुन्छ ।’

‘शान्तिको धर्मदेशना गर्दै भगवान गौतम बुद्ध ४५ वर्षसम्म हजारौं माइल हिंडेर धर्मदेशना गर्नु भएको थियो,’ भिक्षु आचर्य थितीले भने, ‘हामी पनि उहााको अनुशरणमा लागेका हौं ।’

फरक भूगोलमा यात्रा गर्दा दुःखकष्ट भए पनि सबै भुलेर धर्मचक्षु पलाएको यात्रामा सहभागी नेपाली भिक्षु सुजाताले बताए । यात्रा कठिन भए पनि शान्तिको खोजीमा लागेकाले भिक्षुलाई कुनै समस्या नभएको उनीहरुको भनाइ उद्धृत गर्दै पथप्रदर्शक आशिष श्रेष्ठले बताए ।

दैनिक २० देखि ३० किमि हिडेर धर्मशाला, विद्यालय र सामुदायिक भवनमा बास बस्दै उनीहरुले पैदल यात्रा पूरा गरेका थिए । यात्रामा ३० देखि ७० वर्षसम्मका भिक्षु सहभागी थिए । ‘बुद्ध शिक्षाले अहिंसा र शान्तिको सन्देश दिइरहेको छ,’ नेपाली भिक्षु श्रीवजिर प्रेमले भने, ‘त्यही भएर आफूहरु बुद्धकै मार्ग अनुशरण गरिरहेका छौं ।’ विश्वमा बढ्दो द्वन्द्व र अशान्तिलाई बुद्ध शिक्षाले नै निरुत्साहित गर्ने भएकाले आफूहरु शान्ति यात्रामा निस्किएको उनले सुनाए । उनीहरुले ठाउँठाउँमा भिक्षा माग्दै भोजन गर्दै हिंडेका थिए । नेपालमा पैदल यात्रा समाप्त गरेर उनीहरु बस चढेर भारतमा रहेका बुद्धस्थल भ्रमणमा गएका हुन् ।

थाई भिक्षुको आस्था र निष्ठा देखेर बौद्ध गयामा चिबर लिएर भिक्षुणी बनेको उपासिका फर्नडले बताइन् । ‘नेपालीले यात्राका क्रममा देखाएको माया र स्नेहले नेपालप्रति निकै श्रद्धा र आस्था बढायो,’ थाई भिक्षु अचान खुनडेलले भने, ‘बुद्धले त्यसै नेपालमा जन्म लिएका रहेनछन् । साँच्चै शान्तिभूमि रहेछ नेपाल ।’

सम्बन्धित् समाचार