गृहपृष्ठ खबर दुवै हात नभएका क्रिकेटर आमिर

दुवै हात नभएका क्रिकेटर आमिर

काठमाडौं ।

भनिन्छ जिन्दगीमा कहिल्यै हिम्मत हार्नु हुँदैन । हिम्मत नै सफलता हो । दुबै हात नभएको मान्छेले क्रिकेट खेलेको सुन्दा तपाईं पत्याउनु हुन्छ ?

पक्कै हुँदैन । धेरैलाई सुन्दा अचम्म र विश्वास नलाग्न सक्छ । तर जम्मु कश्मिरका आमिर हुसेन एलोनको दुबै हात नभएपनि क्रिकेट खेल्दै आएका छन् । जस्तो सुकै अवस्थामा पनि जिन्दगीमा कहिल्यै हिम्मत हार्नु हुदैन भन्ने उनी विश्वकै एक प्रेरणादायी खेलाडी हुन् ।

बलिङ खुट्टाको बुढी औंलामा च्यापेर स्पिन गर्दछन् । खुट्टाको सहायताले काँधमा ब्याट राख्छन् र ब्याटिङमा उत्रिन्छन् । ब्याटिङ स्टान्स विश्वका सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरसँग मिल्दो जुल्दोछ । उनले सचिनको क्रिकेट देखेर नै खेलेका हुन् । सचिनलाई उनी आफ्नो आइडल नै मान्छन् ।

महाराष्ट्रमा भारतीय पूर्व खेलाडी र सेलिब्रेटीहरु सम्मिलित इन्डियन स्ट्रीट प्रिमियर लिगमा माष्टर–११ बाट उनले प्रतिनिधित्व गरेका छन् । टेनिस बलको टी–१० खेल सचिनसँगै खेलेका छन् ।

आमिर हुसेनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभाव छाड्दै आएका छन् । दौडिएर खुट्टाले बल रोक्दा होस्, वा ब्याटिङ र बलिङ गर्दा । दुवै हात बिना क्रिकेट खेल्न कति गाह्रो हुन्छ ? हामी कल्पना मात्रै गर्न सकिन्छ । तर बंगलादेश, युएई र पाकिस्तानमा गएर खेलिसकेका उनी पारा क्रिकेट खेल्न नेपाल पनि आएका छन् ।

इन्डियन स्ट्रीट प्रिमियर लिगमा सचिन आमिरको नामको जर्सी लगाएर मैदान उत्रिए । आमिर सचिनको नाम भएको जर्सीमा मैदान उत्रिए ।

सचिनको सपना उक्त प्रतियोगितामा पहिलो बल नै आमिरसँग खेल्नु थियो । रोविन उथप्पाको बलमा तेस्रो ओभरमा उनी ३ रनमा क्याच आउट हुन पुगे ।

‘बाधाहरुलाई बेवास्ता गर्दै हरेक डेलिभरी (बल) मा आमिर रियल लेग स्पिनरको रुपमा उभिएका छन् । तिमी सबैको लागि प्रेरणा हौं’, सचिनले उनीसँग खेलेपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

सम्बन्धित् समाचार