फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी सुरुवात गरेको छ ।
स्टेड ओसिएनमा भएको खेलमा ली हाभ्रेलाई पराजित गर्दै पीएसजीले लिग वानमा विजयी सुरुवात गरेको हो । लिग वानको पहिलो खेलमा जित हात पार्ने क्रममा पीएसजीले ली हाभ्रेलाई ४-१ गोलअन्तरले पराजित गर्यो ।
खेलको तेस्रो मिनेटमै ली काङ्ग इनले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रा दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको पीएसजी दोस्रो हाफको तेस्रो मिनेटमै गोल खान पुगेको थियो । खेलको ४८औँ मिनेटमा ली हाभ्रेका लागि गौटियर लोरिसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ८५औँ मिनेटमा उसामाने डेम्बेलेले गोल गर्दै पीएसजीलाई २-१ गोलअन्तरको अग्रता दिलाए । खेलको ८६औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै पीएसजीलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ९०औँ मिनेटमा पीएसजीले पेनाल्टी पायो । र, पेनाल्टीमा रान्डल कोलो मुआनीले गोल गरेपछि खेल पीएसजीले ४-१ गोलअन्तरले जित्यो ।
जितसँगै साविक विजेता पीएसजीले ३ अंक जोडेको छ ।








