काठमाडौं ।
आईसीसी महिला टी–ट्वेन्टी विश्वकपमा वेस्ट इन्डिजले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
जितपछि चार अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने आशा जीवीतै बनेको छ।
युएईको सारजाह क्रिकेट स्टेडियममा वेस्ट इन्डिजकी क्याप्टन, हेली म्याथ्युजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्। बंगलादेशले सामान्य ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर १ सय ३ रन बनायो।
बंगलादेशका कप्तान निगार सुल्तानाले सर्वाधिक ३९ रन बनाइन्। बलिङतर्फ करिश्मा रामहराकले उत्कृष्ट प्रदर्शन गरिन्। उनले चार ओभरमा १७ रन खर्चिएर चार विकेट लिइन्।
जवाफमा वेस्ट इन्डिजले ४३ बल अघिनै मात्र दुइ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। म्याथ्युज र स्टेफानी टेलरले ५२ रनको ओपनिङ साझेदारी गरे।
म्याथ्युजले ३४ को योगदान गर्दा टेलर २७ रनमा ‘रिटायर्ड हर्ट’ भइन्। सिमेन क्याम्बेलले २१ रन जोडिन्। डेन्ड्रा डोटिन १९ रनमा अविजीत रहिन्।
नाहिदा अक्तर र मारुफा अक्तरले एक एक विकेट लिए। वेस्ट इन्डिजको तीन खेलमा यो दोस्रो जित हो।
समूह बी को दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको पनि समान चार अंक नै छ। इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ। तर उसले एक खेल कम खेलेको छ।
प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन्।








