रुपन्देही ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगले अघि बढाएको कर्मचारी भर्ना प्रक्रिया स्थगन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।अन्तरिम आदेशपछि सञ्चालन भइरहेका परीक्षा र उत्तर पुस्तिका जाँचलगायतका कर्मचारी भर्नासम्बन्धी कार्य स्थगन गरिएका छन् ।
आयोगले भदौ २८ मा कर्मचारी भर्नाका लागि आवेदन माग गरेको थियो । तर प्रदेश मन्त्रालय र अन्य विभिन्न तहमा कार्यरत कर्मचारीले नै खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्नामा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिक्त पदको ३० प्रतिशतलाई खुलामा नराखी बढुवाबाट पदपूर्ति गर्नुपर्ने उनीहरूको माग छ ।
प्रदेश लोक सेवा आयोगका उपसचिव राजेन्द्रप्रसाद पन्थीका अनुसार अन्तरिम आदेशपछि सिँचाइतर्फ उपसचिवका लागि लिखित परीक्षा भएर उत्तर पुस्तिका कोडिङ र उत्तर पुस्तिका जाँच गर्ने काम रोकिएको छ ।
सिभिल समूह, हाइवे (सडक) समूह, पशु चिकित्सक, वन समूहलगायतको परीक्षा स्थगन गरिएको छ ।








