बुटवल ।
खानेपानी मन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोली सहित स्थल गत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले भने, ‘झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष्य छ । सोही अनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’ उक्त आयोजनाका विषयमा मंगलबार सरोकारवालसँग बिस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै उनले खानेपानी सम्बन्धि नागरिकका समस्या समाधानका लागि आफु हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए ।








