गृहपृष्ठ Featured लुम्बिनी कप : भारतीय क्लबलाई हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश

लुम्बिनी कप : भारतीय क्लबलाई हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश

विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाँकेको नेपालगन्ज रंगशालामा शनिबार भएको खेलमा पुलिसले भारतको सिलिगुडी एफसीलाई ४–० ले हरायो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले गोल गरेका हुन् ।

अब, पुलिसले फाइनल प्रवेशको लागि १ वैशाखमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले नै जितेको थियो ।

सुमन सुवेदीको कप्तानीमा रहेको पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् । पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरेकी  हुन् ।

१८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो । टोलीले २२औं मिनेटमा तेस्रो गोल बेहार्यो । रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए । निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेकी हुन् ।

दोस्रो हाफमा भने सिलिगुडीले सुधारिएको खेल खेलेको थियो । यद्यपि, दुबै टोलीले गोल गर्न सकेनन् ।

नेपालगन्ज रंगशालामा पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समीक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो ।

पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।

खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन् ।

आइतबार हुने खेलमा बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित् समाचार