भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्या प्रकरणमा प्रहरीले नयाँ खुलासा गरेको छ।
प्रहरी स्रोतका अनुसार हत्यामा श्रीमती पल्लवी मुख्य संदिग्ध हुन्। घटनाका बेला ओम प्रकाश खाना खाँदै थिए।
यसै क्रममा दुई जनाबीच झगडा भयो। पल्लवीले पहिले ओमप्रकाशका आँखामा खुर्सानीको धुलो छर्किदिइन्।
त्यसपछि छटपटाएका ओमप्रकाशका घाँटी, पेट र छातीमा पल्लवीले १०-१२ पटक चक्कु प्रहार गरिन्।
प्रहरीले उनकी पत्नी पल्लवीलाई गिरफ्तार गरेको छ भने कृति छोरीलाई पनि सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यस घटनामा उनका छोरा कार्तिकेषको उजुरीका आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ।
बिहारका मूल निवासी प्रकाश १९८१ ब्याचका आईपीएस थिए। प्रकाशले आफ्नो करिअर हर्पनहल्ली (तत्कालीन बेल्लारी जिल्ला) मा अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) का रूपमा सुरु गरेका थिए।
उनी मार्च २०१५ मा कर्नाटकको डीजीपी नियुक्त भए र २०१७ मा अवकाश लिए।








