काठमाडौं ।
आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू गरेको छ। भारत सरकारको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरू गरेका हुन्।
प्रशिक्षणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्दर शुभ कंशकार रहेका छन्।
पछिल्लो समय नेपाली क्रिकेटको विकासमा छिमेकी मुलुक भारतको निरन्तर सहयोग गर्दै आएको छ। जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि नेपाली क्रिकेटको विकासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो।
त्यतिबेला भारतीय विदेशमन्त्री जयशंकरले नेपाल क्रिकेट संघ ९क्यान०का प्रतिनिधिहरूसँग नेपालको समग्र क्रिकेटको विकासबारे छलफल गरेका थिए। छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कप्तान रोहित पौडेलसहितका खेलाडीहरू सहभागी थिए। विदेशमन्त्री जयशंकरले त्यतिबेला नेपाली क्रिकेटको विकासमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सोही भेटपछि क्यान र भारतको क्रिकेट बोर्ड बीसीसीआईबीच सहकार्य हुँदै आएको छ। सोही सहकार्यअन्तर्गत गत वर्षको अप्रिलमा नेपालले भारतको बरोडा र गुजरातसँग टी(२० प्रतियोगिता खेलेको थियो। अमेरिका र वेस्ट इन्डिजमा भएको टी(२० विश्वकपको तयारीका लागि नेपालले भारतको राज्यस्तरीय टोलीसँग अभ्यास खेल खेलेको थियो।








