काठमाडौं ।
फिफा विश्वकप २०२६ अफ्रिका छनोटमा जिबुटीविरुद्ध ३–० को जित निकालेसँगै इजिप्टले आउँदो वर्ष उत्तर अमेरिकामा आयोजना गरिने विश्वकपमा स्थान बनाएको छ ।
बुधबार राति जिबुटीमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन मोहम्मद सालाहले दुई गोल गरे । इब्राहिम अडेलले एक गोल थपे ।
जितसँगै इजिप्ट आसन्न विश्वकपमा छनोट हुने अफ्रिकाको तेस्रो टिम बनेको छ । इजिप्टअघि अफ्रिकाबाट मोरोक्को र ट्युनिसियाले विश्वकपमा स्थान बनाएका थिए ।
समग्रमा इजिप्ट छनोट प्रतियोगिताबाट विश्वकपमा स्थान बनाउने १६औँ टिम बनेको छ । हालसम्म विश्वकपमा तीन आयोजक र छनोटबाट १६ गरी कुल १९ टिमको स्थान निश्चित भएको छ ।
इजिप्टले हालसम्म तीनपटक विश्वकप खेलेको छ । इजिप्टले सन् १९३४, १९९० र २०१८ को विश्वकप संस्करणमा प्रतिस्पर्धा गरेको थियो ।