काठमाण्डाै –
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७ रन बनाए । अमेरिकाका हर्मीत सिंहले ६ विकेट लिए ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो । अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।
आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् ।
आठ वटा टोली सम्मिलित लिग–२ मा नेपाल १७ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । यूएई १६ खेलमा ६ अङ्कसहित पुछारमा छ ।









