गृहपृष्ठ Featured असोजको वर्षाले देशभर कृषि र पशुपछी क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति

असोजको वर्षाले देशभर कृषि र पशुपछी क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति

तस्बिर : रासस

काठमाण्डौ – कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले कृषि बाली, पशुपछी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण सङ्कलन गरेको र क्षति तीन अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको मन्त्रालयले जनाएको छ ।

सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित पालिकासँगको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरेका हुन् । मन्त्रालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बीमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग आवश्यक समन्वय गर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल पनि गठन गरेको छ । खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने अनुमान गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

उहाँका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ । किसानले कात्तिकमा परेको पानीका कारण पनि धानबालीमा क्षति भोगेका छन् । यसको पनि विवरण सङ्कलन भइरहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार