गृहपृष्ठ खबर ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’

‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’

सागर वि.क., कपिलवस्तु ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बाणगंगा नगरपालिकामा आज आइतबार आयोजित “विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी छलफल तथा परामर्श कार्यक्रम”मा बोल्दै नगरप्रमुख अर्यालले यी विषयहरू स्थानीय सरकारको प्राथमिक कार्यसूचीभित्र पर्ने बताएका हुन् ।

उहाँका अनुसार स्थानीय सरकार र समुदायबीचको सहकार्यबिना दीगो नतिजा हासिल गर्न नसकिने भएकाले बाणगंगा नगरपालिकाले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै काम गरिरहेको छ ।

उहाँले पछिल्ला वर्षहरूमा विपद्को स्वरूपमा परिवर्तन आइरहेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तन मानवीय क्रियाकलापकै परिणाम भएकाले यसबारे विश्व समुदायले समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । अर्यालले विपद्को समयमा नेपाली समाज एकजुट हुने परम्परा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनहरूको उचित उपयोगले राहत र पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

त्यस्तै, बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नीति तथा योजनालाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवालाको सक्रियता जरुरी रहेको बताउनुभयो । उहाँले पालिकाले आगामी वर्षका योजना निर्माणमा विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र वातावरणीय दिगोपनालाई प्राथमिकता दिने तयारी गरेको जानकारी दिनुभयो ।

उक्त एक दिने कार्यक्रम विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालको आयोजना, युनिसेफको सहयोग र बाणगंगा नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार