गृहपृष्ठ खबर नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह

नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह

काठमाण्डाै – नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क छ ।

मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या हुने सम्भावना बढ्छ । यो आँखाको दृष्टि पर्दा अर्थात् (रेटिना) मा आउने समस्या भएकाे डाक्टरले बताउने गरेका छन् ।

आँखा रोग विशेषज्ञ (भिट्रो रेटिनल सर्जन) डा. रबा थापाले मधुमेहले आँखामा पार्ने असरका कारण नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउनुभयो । डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने पनि उहाँको भनाइ छ ।

सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्छ । त्यसैले मधुमेह भएकाले सके ६/६ महिनामा नभए वर्षमा १ पटक आँखा अनिवार्य परीक्षण गराउँदा राम्रो हुने डाक्टरको सल्लाह छ ।

मधुमेह नसर्ने रोगमध्ये प्रमुख रोगका रूपमा रहेको छ । आज नोभेम्बर १४ तारिख अर्थात् विश्व मधुमेह दिवस । ‘कार्यस्थलमा मधुमेह : थप बुझौँ र रोकथाम गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

सम्बन्धित् समाचार