सागर वि.क., वैखरी अनलाईन ।
आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा सञ्चालन हुने प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाको आयोजक संस्था उद्योग व्यापार संघ कपिलवस्तुले आज बुधबार पत्रकार सम्मेलनमार्फत मेलासम्बन्धी सम्पूर्ण तयारीबारे जानकारी गराएको हो ।
उद्योग व्यापार संघका अध्यक्ष तथा मेलाका संयोजक खिमानन्द पौडेल कोपिल ले मेला स्थल सौन्दर्यीकरण, बालउद्यान, स्टल निर्माण, सचिवालय, प्रवेशद्वार तथा स्टेज निर्माणलगायत सबै कार्य सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार विश्वकै अग्लो कुकुर, जलपरी प्रदर्शन र सिंहदरबारको झल्को दिने सचिवालय मेलाका प्रमुख आकर्षण रहनेछन् ।

संयोजक पौडेलले मेला परिसरमै निःशुल्क, शुद्ध र स्वच्छ खानेपानी को व्यवस्था गरिएको र सवारी साधनका लागि व्यवस्थित पार्किङ तयार गरिएको जानकारी दिनुभयो । सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै ८० जना स्वयम्सेवक तथा सिसिटिभि क्यामेरा जडान गरिएको पनि उहाँले जानकारी दिनुभयो । स्थानीय कला–संस्कृति झल्कने विभिन्न झाँकी प्रस्तुत गरि मेला उद्घाटन समारोहलाई भव्य बनाईने उहाँले बताउनुभयो ।
टिकट दर सामान्यका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० टिकट राखिएको जानकारी दिदैं उहाँले रु. १०० को टिकट खरिद गर्नेले रु. १०० बराबरको सर्फ निःशुल्क उपहार स्वरूप पाउने बताउनुभयो । साथै, मेला क्षेत्रमा निःशुल्क कफी र बिस्कुट वितरण गरिनेछ ।
महोत्सवका निर्देशक कृष्ण कुँवरले व्यापार मेलालाई ऐतिहासिक बनाउन सबै तयारी पूरा भएको उल्लेख गर्दै यस मेलाले उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको अवसर सिर्जना गर्ने बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले हस्तकला, कृषि तथा शैक्षिक प्रदर्शनी समेत समावेश गरिएको जानकारी दिनुभयो ।
बाणगंगा नगरपालिका ८ का वडाध्यक्ष बाबुराम अर्यालले मेला मार्फत कपिलवस्तुका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने तथा स्थानीय व्यवसायको पहिचान स्थापित हुने भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले मेलामा आउने दर्शकहरुलाई यस क्षेत्र वरपर रहेको धार्मिक तथा पर्यटकिय स्थलको स्थलगत भ्रमण गर्न समेत आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले स्थानीय तथा घरेलु उत्पादनलाई प्राथमिकता दिई निःशुल्क स्टल उपलब्ध गराउने प्रयास सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले पत्रकारीता जगत मेलालाई भव्य रुपमा सफल बनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
उद्योग व्यापार संघ कपिलवस्तुका महासचिव बासुदेव खनालले प्रथम कपिलवस्तु व्यापार मेला जिल्लाकै गरिम थपिने मेलाका रुपमा स्थापित हुने बताउँदै सभ्य, सुरक्षित र भव्य रुपमा मेलालाई सफल बनाउन सबै दर्शकहरुलाई आग्रह गर्नुभएको छ ।
यस्तै, प्रथम डान्स स्टार कपिलवस्तु अन्तर्गत ३० जना नयाँ प्रतिभाले स्टेज पाउने संयोजक असिम कँडेल क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितालाई निष्पक्ष बनाउन हरेक दिन टिकटको रङ परिवर्तन गरिने र प्रतियोगी जजको ६० प्रतिशत तथा दर्शकको ४० प्रतिशत मतको आधारमा अघि बढ्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सहभागी वक्ताहरुले मेला कृषक, उद्योगी, व्यवसायीका लागि आफ्ना उत्पादन तथा क्षमताको प्रदर्शन गर्ने महत्वपूर्ण थलो बन्नेमा जोड दिएका थिए ।







