विश्वको ८ अर्ब २० करोड जनसङ्ख्यामध्ये झन्डै आधा मानिस शहरमा बसोबास गर्न थालेका एक प्रतिवेदनले देखाएको छ ।
सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसङ्ख्या मात्र शहरमा बस्ने गरेकामा अहिले यो दर बढेर ४५ प्रतिशत पुगेको संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको ‘विश्व शहरीकरण प्रतिवेदन २०२५’ लाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विश्व सात दशकयता लगातार शहरी बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
सन् १९७५ मा १० लाखभन्दा धेरै जनसङ्ख्या भएका ठूलो आकारका शहरहरू ८ वटा मात्र थिए । सन् २०२५ सम्म आइपुग्दा ती सङ्ख्या बढेर ३३ पुगेका छन् जसमा १९ वटा एशियामा पर्दछन् । प्रतिवेदनले इन्डोनेशियाको जाकार्तालाई विश्वकै सबैभन्दा धेरै बस्ती भएको शहर बताएको छ जहा झन्डै ४२ लाखभन्दा धेरै मानिस बसोबास गर्छन् ।
सन् २०५० सम्म यस्ता ठूलो आकारका शहरको सङ्ख्या ३७ पुग्ने अनुमान गरिएको छ । यद्यपि प्रतिवेदनका अनुसार ठूलो शहरभन्दा साना र मध्यम आकारका शहरहरूमा धेरै मानिस बसोबास गर्छन् र ती शहरहरू अझ छिटो गतिमा बढिरहेका छन् । अध्ययनमा समावेश १२ हजार शहरमध्ये ९६ प्रतिशतमा १० लाखभन्दा कम जनसङ्ख्या छ र ८१ प्रतिशतमा २ लाख ५० हजारभन्दा कम जनसङ्ख्या रहेको पाइएको छ ।
विश्वभरका शहरहरूको सङ्ख्या सन् १९७५ देखि २०२५ सम्म दोब्बरभन्दा धेरै बढेको छ । सन् २०५० सम्म यो सङ्ख्या १५ हजारभन्दा धेरै पुग्ने अनुमान छ जसमा धेरै शहरहरूमा २ लाख ५० हजारभन्दा कम जनसङ्ख्या रहनेछ ।
साना बस्तीहरूमा बस्ने जनसङ्ख्या सन् १९५० मा ४० प्रतिशत भए पनि सन् २०२५ सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको छ । ग्रामीण क्षेत्रमा बस्ने जनसङ्ख्या झरेर १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
५ हजारभन्दा धेरै जनसङ्ख्या र पर्याप्त घनत्व भएका बस्तीहरू ७१ देशमा सबैभन्दा सामान्य बस्ती प्रकार रहेका छन् । ग्रामीण बस्तीहरू भने सन् १९७५ मा १ सय १६ देशमा मुख्य बस्ती प्रकार भए पनि अहिले ६२ देशमा मात्र सीमित छन् ।
‘शहरीकरण यो युगको निर्णायक शक्ति हो । यसको समावेशी र योजनाबद्ध व्यवस्थापनले जलवायु सुरक्षा, आर्थिक वृद्धि र सामाजिक समानताको नयाँ बाटो खोल्न सक्छ । त्यसैले प्रत्येक देशले आवास, भू–व्यवस्था, यातायात र सार्वजनिक सेवाहरूलाई शहर र गाउँ दुवै क्षेत्रमा मिलाएर अघि बढाउनुपर्छ’, संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी ली जुनह्वाले भन्नुभयो ।









