कास्की – कास्कीको पोखरामा दाइँ महोत्सव भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ को पुरुञ्चौरमा रहेको चुरुङ्गा फाँटमा दोस्रो दाइँ महोत्सव भएको हो ।
हरेक वर्ष रोपाइँ महोत्सव हुँदै आएको पोखरामा धान थन्क्याउने परम्परागत सीप प्रदर्शनसँगै पर्यटन प्रवद्र्धन गर्न गएको वर्षदेखि दाइँ महोत्सव आयोजना गर्न थालेको आयोजक पोखरा पर्यटन परिषदले जनाएको छ । परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटनको प्रवर्द्धन गर्न महोत्सवले सघाउने अपेक्षा छ । पोखरा महानगरका मेयर धनराज आचार्यले कुन्युको जुरो खोलेर शुरू गरेको महोत्सवमा पाँच हल गोरुले दाइँ गरिएको छ ।
स्थानीय कृषकहरुको मनोबल उच्च बनाउन पाँच सय मुरी, सय मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट किसानहरूलाई विशेष सम्मान गरिएको छ । यस्तै उत्कृष्ट गोरुपालक प्रतियोगिता, धान चुट्ने, परालको भारी बाध्ने, गुन्द्री बुन्ने लगायतका प्रतियोगिता पनि सम्पन्न भएका छन् । कार्यक्रममा पाहुनाहरुलाई परम्परागत खाजा सेल, तरकारी दिइएको छ ।








