गृहपृष्ठ खबर बालबालिकालाई १२ वर्ष नपुग्दै स्मार्टफोन दिँदा स्वास्थ्यका लागि हानिकारक : अध्ययन

बालबालिकालाई १२ वर्ष नपुग्दै स्मार्टफोन दिँदा स्वास्थ्यका लागि हानिकारक : अध्ययन

तस्वीर : एजेन्सी

अमेरिकामा गरेको एउटा अध्ययनले बालबालिकालाई १२ वर्ष नपुग्दै स्मार्टफोन दिनु हानिकारक हुने निष्कर्ष निकालेको छ ।

१२ वर्ष नपुग्दै स्मार्टफोन पाएका बालबालिकामा डिप्रेसन, मोटोपना र अपर्याप्त निद्राको जोखिम बढी हुने निष्कर्ष निकालेको चिकित्सा जर्नल पेडियाट्रिक्समा प्रकाशित अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा सञ्चालित बालमस्तिष्क अध्ययनले १० हजार ५०० जनाभन्दा धेरै बालबालिकाको तथ्याङ्क विश्लेषण गरेर यो निष्कर्ष निकालेको प्रतिवेदनमा भनिएको छ ।

यसअघिका अरू अध्ययनहरूले पनि स्मार्टफोन प्रयोग गर्ने बालबालिका प्रत्यक्ष सामाजिक अन्तरक्रिया, शारीरिक गतिविधि र पर्याप्त निद्राबाट टाढा हुने सम्भावना बढी हुने देखाएकोमा यो अध्ययनले बृहत् रूपमा तथ्यहरू समेटेको न्युयोर्क टाइम्सको खबरमा उल्लेख छ ।

अध्ययनमा संलग्न विज्ञहरूले बालबालिकालाई डिजिटल पहुँच आवश्यक भए पनि शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै कम्तीमा १२ वर्ष पुगेपछि मात्रै स्मार्टफोन दिनु स्वास्थ्यका लागि सुरक्षित उपाय रहेको सुझाव दिएका छन् ।

 

अन्तिम अपडेट: मंसिर १६, २०८२

सम्बन्धित् समाचार