गृहपृष्ठ खबर विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै

विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै राखेको छ । विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।

लुम्बिनीका डी आर्सी सर्टले ५७ र निरोशन डिकवेलाले २९ रन बनाए । विराटनगरका सन्दीप लामिछाने र सुबाश भण्डारीले समान २ तथा जर्ज मुन्सेले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो ।

विराटनगरका लोकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२ रन बनाए । लुम्बिनीका शेर मल्लले ३ विकेट लिए ।

यो जीतसँगै लुम्बिनी ६ खेलमा ३ खेल जित्दै ६ अङ्कसहित तालिकामा चौथो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तेश्रो स्थानमा छ । विराटनगरको पनि ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ ।

यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा ८ वटा टोली सहभागी छन् ।

सम्बन्धित् समाचार