अर्घाखाँची — जिल्लामा रहेका एसईई परीक्षाका १४ वटा केन्द्रमध्ये १२ वटामा बिहीबारबाट नै कापी जाँच सुरु भएको छ ।
विश्व मावि ढाकावाङ र सरस्वती मावि सूर्यथुम केन्द्रमा आन्तरिक व्यवस्थापन पूरा नभएकाले शुक्रबारदेखि कापी जाँच हुनेछ । १२ मध्ये सिद्धार्थ मावि हंसपुर र कमला मावि पाली केन्द्रमा कापी जाँच्ने काम सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद बेल्वासेले बताए ।
तीन दिनभित्र जाँचेर कापी प्रहरी र नम्बर इकाइमा पठाउनेछन् । बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा विज्ञ शिक्षकबाट नै कापी जाँच भइरहेको उनले बताए । जिल्लाका सबै केन्द्रमा बिहीबारको परीक्षा शान्तिपूर्ण भएको छ । केही स्कुलमा सीसी क्यामराबाट निगरानी राखिएको छ । चुत्रावेशीमा रहेको जनज्योति मावि केन्द्रमा एउटा कोठा व्यवस्थापन गरेर कापी जाँच सुरु गरिएको छ ।
प्रधानाध्यापक माधवप्रसाद आचार्यले आफ्नो कार्यकक्षबाट सीसी क्यामरा राखेर अर्को कोठामा दुई जना शिक्षकले कापी जाँच गरेको निगरानी गरे । कक्षाकोठाको ढोकामा एक जना सशस्त्र र एक जना जनपद प्रहरीले सुरक्षा दिइरहेका छन् । स्कुल प्रांगणमा अरु शिक्षक र बाहिरी मान्छेलाई प्रवेश निषेध गरिएको छ । जनज्योतिमा ९ वटा विद्यालयका २ सय ६६ जना विद्यार्थीले सो केन्द्रबाट परीक्षा दिएको उनले बताए ।






