गृहपृष्ठ कृषि साना किसानद्वारा कृषकलाई कृषि यान्त्रिकरण सामग्री वितरण

साना किसानद्वारा कृषकलाई कृषि यान्त्रिकरण सामग्री वितरण

राम बहादुर गन्धर्व, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगामा कृषिलाई आधुनिक, सहज तथा उत्पादनमुखी बनाउने उद्देश्यले सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले कृषकहरूलाई कृषि यान्त्रिकरण सामग्री वितरण गरेको छ।

बाणगङ्गा नगरपालिका–५ मा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र तौलिहवा को आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटअन्तर्गत सहकारी संस्थाको सहजीकरणमा सेवा क्षेत्रभित्रका शेयर सदस्य कृषकहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरिएको हो।

कार्यक्रमअन्तर्गत १० जना कृषकलाई स्प्रे टंकी, दुई जनालाई चपकटर तथा एक जनालाई मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको संस्थाले जनाएको छ।

त्यसैगरी बाणगङ्गा नगरपालिकाको समन्वयमा समूह नम्बर ८८ की एक कृषक सदस्यलाई ९ एचपी क्षमताको मिनिटिलर तथा दुई जना कृषकलाई मकै छोडाउने मेसिन वितरण गरिएको सदस्य कमल अर्यालले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै घनश्याम चौधरी ले कृषिमा यान्त्रिकीकरणको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कृषकहरूको आवश्यकता र मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

त्यस्तै याबबहादुर प्युठानी ले कृषकलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी हुने बताउनुभयो। आधुनिक कृषि उपकरणको प्रयोगले समय, श्रम र लागत बचत हुनुका साथै उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले स्थानीय तह, सहकारी संस्था र सम्बन्धित निकायबीच समन्वय अझ सुदृढ हुनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रममा सहभागी कृषकहरूले उपकरण प्राप्तिपछि कृषि कार्य थप सहज हुने विश्वास व्यक्त गरेका छन्। सहकारी संस्थाले विगतदेखि नै कृषकहरूको आयस्तर वृद्धि, व्यावसायिक खेती प्रवर्द्धन तथा आधुनिक कृषि प्रणाली विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका पदाधिकारी, कृषक, शेयर सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रम सदस्य वेदप्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित् समाचार