गृहपृष्ठ Featured डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन

डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन

तस्वीर : एएफपी

श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ । स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक १ हजारभन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ ।

यस वर्ष श्रीलङ्कामा अहिलेसम्म झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ भने २९ जनाको ज्यान गएको छ । यद्यपि यो सङ्ख्या सन् २०१७ को महामारीभन्दा कम हो । त्यति बेला १ लाख ८६ हजार जना सङ्क्रमित भएका थिए भने ४४० जनाको ज्यान गएको थियो ।

सरकारले भोलिदेखि देशव्यापी सरसफाइ तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जलवायु परिवर्तनका कारण डेङ्गीजस्ता लामखुट्टेजन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ ।

स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप सङ्क्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सिर्जना गर्ने जोखिम बढेको छ ।

मनसुनी वर्षा, भर्खरैको बाढी र पानी जम्ने ठाउँहरूको वृद्धिका कारण सङ्क्रमण फैलिन सहज वातावरण बनेको अधिकारीहरूको मूल्याङ्कन छ ।

सम्बन्धित् समाचार