वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न नगरसभामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो ।
नगर उपप्रमुख रिता कुमारी चौधरी ले नगरसभामा बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख चक्रपाणी अर्याल ले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । उहाँले नगरवासीको आवश्यकता र विकासका लक्ष्यलाई केन्द्रमा राखी बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयन गर्ने जनाएको छ ।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सभाले आगामी आर्थिक वर्षमा नगरको दिगो विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।







