पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका–३, झुम्सा भुतखोलामा सडक पहिरो खस्ने र भासिने क्रम १० वर्षभन्दा बढी भइसक्यो । तर हरेक वर्ष थोरैथोरै बजेटमा मर्मत गरे पनि दिगो समस्याको समाधान हुन सकेको छैन ।
गतवर्ष २ करोडभन्दा बढीको ठेक्का लगाएर समाधानको उपाय सडक डिभिजन पाल्पाले खोज्यो । तर आधा भाग कालोपत्र गरेकै भोलिपल्ट पुनः सडक भासियो । तल्लो भेगमा पहिरो खस्यो । स्थानीय बासिन्दाका जग्गा, घरसमेत भासिएका छन् ।
पछिल्लो १० वर्षयता १० मिटरभन्दा बढी सडक भासिएर तल्लो भागमा पुगेको छ । ‘सानाठूला सवारी सञ्चालन गर्न समस्या नहुने कुरै भएन,’ झुम्साका स्थानीय टंक बस्यालले भने, ‘सडक डिभिजनले हरेक वर्ष काम गर्छ तर यसको स्थायी समाधान खोजेको जस्तो लाग्दैन ।’ कामका लागि टेन्डर हरेक वर्ष लगाए पनि यसको दिगो समाधान निस्कन नसकेको उनले बताए ।
राजमार्गको पहिरोले चुनमाया पार्क जाने कल्भर्टका साथै तिनाउ खोलामा निर्मित पक्की पुलतर्फ लेदो र गग्रेटो बगाएर लगेको छ । सामान्य पानी पर्दासमेत पहिरो खस्ने र पक्की पुलमा लेदो जम्ने गरेको छ । पानी पर्दा राजमार्गको छेउबाट ढुंगामाटो सहितको पहिरो बढ्दै गएपछि सडक डिभिजनले राजमार्ग जोगाउन प्लास्टिक बिछ्याएको सूचना अधिकारी महेश्वर लम्सालले बताए ।







