राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो ।
पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो । यस्तै उहाँले आफू र प्रधानमन्त्री वालेन्द्र शाहबीच कुनै मतभेद नरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको ‘एक्लै लडिरहेको छु’ भन्ने भावुक स्टाटसलाई राजनीतिकरूपमा व्याख्या नगर्न आग्रह गर्दै लामिछानेले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकोले उहाँका हरेक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो ।
सिङ्गो पार्टी उहाँकै साथमा उभिएको सभापति लामिछानेको भनाइ छ ।








