कपिलवस्तु । इस्लाम धर्मका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिन (मोहम्मद डे) को अवसरमा कपिलवस्तुका ८ स्थानीय तहले भोलि बुधबार स्थानीय बिदा दिएका छन्।
कपिलवस्तु जिल्लाका १० स्थानीय तह मध्ये बाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिका बाहेक ८ स्थानीय तहले मोहम्मद डेको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेका हुन्।
कपिलवस्तु नगरपालिकाले पनि मोहम्मद डेको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ। मुस्लिम समुदायले धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने पर्व भएकाले बिदा दिइएको कपिलवस्तुका नगर प्रमुख सुदीप पौडेलले बताए।
पैगम्बर मोहम्मदको जन्म दिन नेपाल सहित विश्व भरका मुस्लिम समुदायले धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने गर्छन्। मुस्लिम समुदायका अनुसार पैगम्बर मोहम्मदले समाजमा रहेका रूढीवादी सोच, अन्धविश्वास तथा विभिन्न सामाजिक विकृति विरुद्ध संघर्ष गरेका थिए।
कपिलवस्तु जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन्।







