काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १५७ जनाको ज्यान गएको छ ।
प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो ।
बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, ४ जनाको ट्रमा सेन्टरमा, ३ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भैरहेको छ ।
बाढीका कारण झण्डै एकहजार जना बेपत्ता भएको अनुमान छ । बेपत्ताहरुको खोजी र उद्धारको काम भैरहेको छ । त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति पुगेको छ ।
हिजो बिहान चीनतर्फबाट एक्कासी आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिंदा नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको हो । नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन् ।
एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ । सिन्धुपाल्चोकको भोटेकोशी सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्न पुग्छ ।
अर्को रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिलेपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ । यो नदी पछि त्रिशूली नदीमा मिसिन्छ । हिजोको बाढी रसुवाको भोटेकोशी नदीमा आएको हो ।







