गृहपृष्ठ Featured भारतको गण्डक नदीमा भेटिए १३ शव, नेपाललाई बुझाउने तयारी

भारतको गण्डक नदीमा भेटिए १३ शव, नेपाललाई बुझाउने तयारी

नेपालको रसुवामा ठुलो संख्यामा मानिस बेपत्ता पार्ने गरी भीषण बाढी आएयता भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ। उत्तर प्रदेश नेपालको सिमानासँग जोडिएको छ।

कुशीनगर प्रशासनका अनुसार उक्त नदीमा अहिलेसम्म १३ शव फेला परेका छन्। जसमा ६ पुरुष र ७ महिला छन्।

बीबीसी हिन्दीका अनुसार यीमध्ये ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ। सीमित ठाउँका कारण सात शवलाई गोरखपुर एम्स पठाइएको छ।

स्थानीय प्रशासनका अनुसार थप शव फेला पर्ने सम्भावनालाई ध्यानमा राख्दै एसडीआरएफ र एनडीआरएफ टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेका छन्।

कुशीनगरका प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले स्थानीय पत्रकार गुड्डु निषादसँग भनिन्, ‘शवहरूका सम्बन्धमा तोकिएको नियमअनुसार सबै आवश्यक कारबाही भइरहेको छ। जिल्ला प्रशासन नेपाली अधिकारीहरूसँग सम्पर्कमा छ र विदेश मन्त्रालयमार्फत बरामद गरिएका शवहरूको बारेमा नेपाललाई पनि जानकारी गराइरहेको छ।’

प्रशासनका अनुसार पोस्टमार्टम र अन्य आवश्यक प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ।

प्रशासनले नेपालबाट आउने मानिसहरूलाई सहयोग गर्न नियन्त्रण कक्ष पनि स्थापना गरेको छ।

सम्बन्धित् समाचार