गृहपृष्ठ Featured जलविद्युत् आयोजनाका ९०० जना ६ दिनदेखि सम्पर्कविहीन

जलविद्युत् आयोजनाका ९०० जना ६ दिनदेखि सम्पर्कविहीन

काठमाडौँ — मोबाइलको स्क्रिनमा आँखा गाडेर बसेकी मिठ्ठु खड्काले कति पटक फोन डायल गरिन्, उनलाई नै सम्झना छैन । निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा दुई वर्षदेखि काम गर्ने उनका श्रीमान् कमल खड्का (नानु) सँग बाढी आउनुअघि बिहान साढे आठ बजेतिर अन्तिम पटक भिडियो कल भएको थियो । भोटेकोशी बाढीले मच्चाएको वितण्डाबारे उनले १०ः३० बजे मात्र थाहा पाइन् । लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो । र, सुरु भयो एउटा अन्तहीन प्रतीक्षा ।

‘मोबाइल हेर्दाहेर्दै आँखा टट्टाइसकेको छ,’ गौरीशंकर–२ जुगु, दोलखाका खड्का भन्छिन्, ‘हराएकाको सूचीमा नाम आउँदैन, भेटिएकाको सूचीमा पर्दैन । मेरो संसार नै हराएजस्तो भएको छ ।’ भोटेकोशी बाढीले सुरुङ, भूमिगत विद्युत् गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार यतिबेला एउटा खबरको खोजीमा छन्—जीवित छन् कि छैनन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार ११ जलविद्युत् आयोजना (निर्माणाधीनसहित) का ८ सय ९४ जना अझै सम्पर्कविहीन छन् । ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फसेका छन् कि बाढीले बगाएर बेपत्ता बनाएको छ भन्ने यकिन विवरण कसैसँग छैन । सम्पर्कविहीन भएकाका परिवारजनले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दबाब बढाएका छन् । ‘लास नदेखेसम्म आस रहन्छ,’ मिठ्ठुले भनिन्, ‘खोजी गरिदिन कम्पनीलाई गुहार गरेका थियौं, कम्पनी हामी आफैं अगाडि सरेर जान सरकारले दिएको छैन भन्छ ।’

सम्बन्धित् समाचार