काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर प्रतियोगिताको पुरस्कार रकम घोषणा गरेको हो ।
गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यस्तै पहिलाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्सले पनि १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाएकाे थियाे ।
क्यानका अनुसार उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रु चाैथाे हुने टाेलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबीच क्यानले एनपीएलको तेस्रो संस्करणबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरेको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट याे परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै झन्डै २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
एनपीएल भोलिदेखि कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदैछ । आउँदो मङ्सिर ५ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
तेस्राे संस्करणकाे एनपीएलमा पहिलो पटक ‘डीआरएस’ प्रयोग हुँदैछ । यस्तै एनपीएलका सबै खेललाई आईसीसीले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ ।







