गृहपृष्ठ Featured कपिलवस्तुमा ५०९ दुर्गा मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन

कपिलवस्तुमा ५०९ दुर्गा मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन

डिलाराम भुसाल
कपिलवस्तु, ८ कात्तिक ।

कपिलवस्तुमा यस वर्ष स्थापना गरिएका ५०९ वटा दुर्गा भगवतीका मूर्ति भव्य र शान्तिपूर्ण रूपमा विसर्जन गरिएको छ। बाजागाजा, आकर्षक झाँकी र भक्तजनको उत्साहजनक सहभागिताबीच जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा धार्मिक विधिअनुसार मूर्ति विसर्जन गरिएको हो।

जिल्लाका १० वटै स्थानीय तहका चोक, बजार तथा गाउँमा घटस्थापना र सप्तमीका दिन दुर्गा भगवतीका मूर्ति स्थापना गरी पूजापाठ गरिएको थियो। कात्तिक ३ गतेदेखि सुरु भएको मूर्ति विसर्जन कार्य कात्तिक ८ गतेसम्म सञ्चालन भएको थियो।

भक्तजनले बाणगंगा नदीका रामघाट र लक्ष्मणघाट, सुरई नदी तथा बेल नदीलगायतका स्थानमा पुगेर मूर्ति विसर्जन गरेका थिए। विशेषगरी कृष्णनगर, सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रबाट निकालिएका आकर्षक झाँकीले नगर परिक्रमा गरेपछि मूर्ति विसर्जनका लागि घाटमा पुर्‍याइएको थियो। विसर्जनका क्रममा विभिन्न घाटमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको थियो।

कडा सुरक्षा व्यवस्थाबीच विसर्जन

विगतका घटनाबाट पाठ सिक्दै जिल्ला प्रशासन कार्यालयले यस वर्ष चाडपर्व तथा मूर्ति विसर्जनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो। स्थानीय अगुवा, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजबीचको समन्वयले विसर्जन कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयो।

उहाँका अनुसार विगतका घटनाको अध्ययन गरी सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरिएको थियो। सबै पक्षको सहयोग र समन्वयका कारण चाडपर्व तथा मूर्ति विसर्जन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो।

मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप तथा अप्रिय घटना रोक्न जिल्लाभर सुरक्षाकर्मी परिचालन गरिएको थियो। विशेषगरी संवेदनशील मानिने कृष्णनगर क्षेत्रमा ड्रोन, सीसीटीभी क्यामेरा तथा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनुभयो।

उहाँका अनुसार दसैँ अवधिभर र मूर्ति विसर्जनका क्रममा जिल्लामा कुनै अप्रिय घटना भएनन्।

त्यस्तै, कात्तिक ३ देखि ८ गतेसम्म ५०९ वटा मूर्ति व्यवस्थित र अनुशासित रूपमा विसर्जन गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो। विभिन्न पालिका तथा क्षेत्रका स्थानीय बासिन्दा र भक्तजनको सहयोगले विसर्जन कार्य सहज भएको उहाँको भनाइ छ।

धार्मिक आस्था र आर्थिक पक्ष

कपिलवस्तुमा दुर्गा भगवतीको मूर्ति स्थापना गरी पूजाआजा गर्ने परम्परा हरेक वर्ष उत्साहका साथ मनाइँदै आएको छ। स्थानीयका अनुसार एउटा मूर्ति निर्माणमा २० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।

नवरात्रभर व्रत बसेर दुर्गा भगवतीको पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजनले श्रद्धापूर्वक पूजाआजा गर्ने गरेका छन्। सामूहिक सहभागिता, धार्मिक आस्था र सांस्कृतिक उत्साहले कपिलवस्तुमा दुर्गा पूजा तथा मूर्ति विसर्जनलाई हरेक वर्ष थप भव्य बनाउँदै लगेको स्थानीयको भनाइ छ।

सम्बन्धित् समाचार