काठमाण्डाै – बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभाव नेपालका सबै ठाउँमा परेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहानैदेखि सबैतिर बादलले ढाकेको छ भने कतैकतै पानी पनि परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात शुरू भएको छ ।
आज रातिदेखि भोलि र पर्सि अलि धेरै वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागकी वरिष्ठ मौसमविद् एवम् प्रवक्ता विभूति पोखरेलले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा मुसलधारे वर्षा तथा धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विज्ञप्ति निकालेर अबको तीन दिन हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
भारतमा कम्तीमा सात जनाको ज्यान जानुका साथै धानलगायतका बाली र बिजुलीका पोललगायतका संरचनामा ठूलो क्षति गरेको समुद्री आँधी नेपाल आइपुग्दा कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन् । तर प्रणाली कमजोर भए पनि केही ठाउँमा हावाहुरी र मुसलधारे वर्षा तथा माथिल्लो क्षेत्रमा व्यापक हिमपातको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
पर्यटन विभागलगायतका संस्थाले हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न अनुरोध गरेका छन् । वर्षाका कारण बाली बिग्रिन सक्ने भन्दै विज्ञहरूले अब तीन दिन धान नकाट्न सुझाव पनि दिएका छन् ।
यो हप्ताको शुरूमै अर्नब चक्रवातले वर्षा गराउने पूर्वानुमान गरिएसँगै उच्च सतर्कता अपनाउन भनिएको थियो । पर्सि शनिवार बेलुकादेखि यो प्रणाली बाहिरिने देखिएको मौसमविद्को भनाइ छ । खासगरी बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा अलि धेरै सतर्कता अपनाउनुपर्ने छ ।
प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति निकालेर सम्भावित मौसमी जोखिमबाट सर्वसाधारण मानिसलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका जनाएको छ ।
कार्यालयका अनुसार हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ ।
सरकारले सर्वसाधारणलाई भ्रामक सूचना र अफवाहको पछि नलाग्न तथा आधिकारिक निकायबाट जारी मौसम पूर्वानुमान र सुरक्षा सूचनाका आधारमा सतर्कता अपनाउन आग्रह गरेको छ ।







