गृहपृष्ठ Featured पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

काठमाण्डौ – प्रहरीले समाचारको विषयलाई लिएर हिजो विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको छ । पत्रकारमाथि भएको धरपकडलाई लिएर सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले विरोध गरेका छन् ।

प्रहरीले पत्रकारमाथि हिजो गरेको गतिविधि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि गरेको नियन्त्रणलाई सम्झाउने किसिमको भएको धेरैको टिप्पणी छ ।

सबैतिरबाट विरोध भएपछि पक्राउ परेका सबै पत्रकारलाई सोधपुछ गरेर हिजै छाडिएको छ । केही पत्रकारलाई प्रहरीको साइबर ब्यूरोमा बोलाइएको थियो । पत्रकारलाई समाचारको आधार, तथ्य, प्रमाण र स्रोतबारे सोधिएको थियो ।

केही दिनअघिदेखि बिचौलिया इनम सापकोटासँग प्रहरी प्रमुखदेखि प्रधानन्यायाधीश, न्यायाधीश, सांसदसम्मको नाम जोडिएको भन्दै सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि समाचारको स्रोत खोज्न भन्दै पत्रकारमाथि धरपकड भएको हो ।

नेपाल पत्रकार महासंघले पत्रकार पक्राउको निन्दा गर्दै यसलाई प्रेस स्वतन्त्रविरोधी कार्य भनेको छ । समाचार कक्षमा प्रवेश गरेर सादा पोसाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालको आकस्मिक बैठकले समेत आपत्ति जनाएको छ ।

सञ्चारमाध्यममा भएको धरपकडका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने आफूहरूलाई जानकारी नभएको दाबी गरेको छ ।

साढे तीन महिनाअघि काठमाण्डौका तीन प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा एकै समयमा शंकास्पद गाडी राखेर पत्रकारको आवागमन अवरुद्ध गरिएको थियो ।

सम्बन्धित् समाचार