गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री फेर्ने एमाले प्रस्ताव नेकपा र जसपाद्वारा ‘अस्वीकार’

लुम्बिनीका मुख्यमन्त्री फेर्ने एमाले प्रस्ताव नेकपा र जसपाद्वारा ‘अस्वीकार’

बुटवल — सरकार गठन भएको ३ महिना पुग्न लाग्दा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेले मुख्यमन्त्री परिवर्तन गरेर मन्त्री हेरफेरका लागि गृहकार्य गरिरहेको छ । तर मुख्य सत्ता साझेदार दल नेकपा र जसपा नेपालले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

लुम्बिनीमा कांग्रेससँगको गठबन्धन तोडिएपछि गत १४ साउनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई निरन्तरता दिने गरि काठमाडौंमा एमाले नेता लिला गिरी र आचार्यबीच सहमति गराएका थिए । एमाले स्रोतका अनुसार दसैंअघि आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएर गिरीलाई पद छोड्नु पर्ने सहमति थियो । त्यही मौखिक सहमतिलाई अघि सारेर गिरीसहितका केही एमाले नेताले पार्टीको आन्तरिक कमिटीमा मुख्यमन्त्री फेर्ने छलफल अघि सारेका हुन् । पार्टीभित्र आन्तरिक छलफल सुरु भएको एमाले नेता गिरीले बताए । ‘छलफल जारी छ । केही दिनमा टुंगो लाग्ला,’ उनले भने, ‘एमालेको निर्णयपछि अन्य दलहरूसँग संवाद गर्छौं ।’

१५ प्रदेश सभा सदस्य रहेको मुख्य साझेदार नेकपाले सरकार गठन भएर विश्वासको मत लिएको ३ महिना पनि नपुग्दै सरकार फेरबदल गर्ने विषय उपयुक्त नहुने अडान लिएको छ । सरकारको नेतृत्व परिवर्तन हुनु भनेको मन्त्रीसहितको सेट नै परिवर्तन हुने र त्यसले जनतामा निराशाबाहेक अन्य केही नजाने भन्दै त्यस्तो खेलमा नलाग्न नेकपाका नेताहरूले नै एमालेलाई सुझाव दिन थालेका छन् । बिहीबार नेकपाका नेता वर्षमान पुनले मुख्यमन्त्री आचार्यलाई देउखुरीमै भेटेर सरकारको नेतृत्व परिवर्तनका लागि अहिलेको समय उपयुक्त नभएको र नेकपा त्यसमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

सम्बन्धित् समाचार