गृहपृष्ठ Featured आगामी महिनादेखि नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

आगामी महिनादेखि नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि नेपालीले पनि भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

प्रधानमन्त्री स्वदेश फिर्ता भएसँगै दुवै देशका भुक्तानी प्रदायकबीच नेपालीलाई पनि भारतमा क्यूआर भुक्तानी सेवा सुरु गर्ने अनौपचारिक सहमति भएको हो ।

प्रधानमन्त्री शाहको भारत भ्रमण मिति तय भएसँगै नेपालीलाई भारतमा क्यूआर भुक्तानी दिने/नदिने विषयले चर्चा पाएको थियो ।

भ्रमण क्रममा प्रधानमन्त्रीको टोलीले क्यूआर भुक्तानी सम्बन्धमा पनि चासो राखेपछि भारतीय पक्षले सोमबार र मंगलबार नै क्यूआर भुक्तानी सेवा कार्यान्वयन गर्ने सन्दर्भमा नेपाली पक्षसँग छलफल गरेको छ ।

मंगलबार टुंगिएको छलफलबाट आगामी एक महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य राखिएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

‘प्रधानमन्त्री शाहको भारत भ्रमणपछि अहिले सकारात्मक कुरा भइरहेको छ,’ ती अधिकारीले भने, ‘आज पनि बैठक थियो, भर्खरै सकियो, अवस्था सकारात्मक छ ।’

प्रधानमन्त्रीको भ्रमण क्रममा पनि यसबारे केही कुरा भएको हुन सक्ने ती अधिकारीको बुझाइ छ । ‘औपचारिक रूपमा त भनिएको छैन, तर प्रधानमन्त्रीले पनि केही कुरा राख्नुभएको हुन सक्छ,’ ती अधिकारीले भने, ‘सबै कुरा राम्रोसँग अघि बढ्यो भने एक महिनाभित्रै सेवा सुरु हुन्छ ।’

क्यूआर भुक्तानी सेवा सुरु गर्न भारतीय र नेपाली दुवै पक्षले पूर्वाधार तयार गरिसकेको अवस्था छ । ‘दुवै देशको सहमतिपछि सुरु गरौं भन्नेबित्तिकै नेपालीलाई भारतमा क्यूआर भुक्तानी सुरु हुन्छ,’ ती अधिकारीले भने, ‘प्रधानमन्त्रीको भ्रमणपछि भारतीय पक्ष पनि धेरै सकारात्मक भएकाले आगामी एक महिनाभित्र सेवा सुरु गर्ने सहमति जुटेको छ ।’

नेपालीलाई भारतमा क्यूआर भुक्तानी सेवा उपलब्ध गराउन भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेका अधिकारीहरूले छलफल गरेका हुन् ।

जेठ २०८० मा भारत भ्रमण क्रममा एनसीएचएलसँग व्यक्ति–व्यक्ति र फोनपेसँग व्यक्ति–मर्चेन्ट भुक्तानी सुरु गर्ने सम्झौता एनपीसीआईसँग भएको थियो । त्यसमध्ये एनसीएचएलसँग भएको सम्झौता गत जेठमा कार्यान्वयनमा आए पनि फोनपेसँग अझै पनि बाँकी हो ।

गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण क्रममा समकक्षी डा. एस जयशंकरबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी गर्दै डिजिटल माध्यमबाट अन्तरदेशीय पीटुपी (पिअर–टु–पिअर) रेमिट्यान्स आदान–प्रदान सुरु गरेका थिए ।

सोही समयमा परराष्ट्रमन्त्री खनालले व्यक्ति–मर्चेन्ट पेमेन्ट अर्थात् क्यूआरका माध्यमबाट हुने भुक्तानी अर्को चरणमा खुल्ने बताएका थिए । क्यूआर भुक्तानीको विषय प्रधानमन्त्रीको भारत भ्रमणपछि कार्यान्वयनमा आउने गरी अघि बढेको छ ।

अहिले बैंक खातामार्फत व्यक्ति–व्यक्तिबीच डिजिटल भुक्तानी गर्न सकिन्छ । व्यक्ति र मर्चेन्टबीचको कारोबार नेपाली नागरिकले भारतमा डिजिटल माध्यमबाट पैसा पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा छैन । क्यूआर सेवा सुरु भए पनि नेपालीले भारतमा डिजिटल माध्यमबाट पैसा पठाउने सहमति मात्रै कार्यान्वयनका लागि बाँकी हुन्छ ।

बैंकबाट बैंकमा कारोबार गर्न हालसम्म १२ नेपाली बैंकले सहमति जनाइसकेको एनसीएचएलले जनाएको छ । त्यसैगरी भारततर्फ १८ बैंक तथा वित्तीय संस्थाले यस्तो सेवा प्रदान गर्दै आएका छन् ।

विदेशी विनिमय सञ्चिति ध्यानमा राखेर समेत नेपालीले भारतमा रकम पठाउने व्यवस्था गर्न सकिने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

हाल कुन-कुन माध्यमबाट हुन सक्छ नेपाल-भारत कारोबार ?

नेपालमा भएका भारतीय र भारतमा भएका नेपालीले बैंकमा उपस्थित भई तोकिएका सर्त र सीमाका आधारमा रकम पठाउन सक्छन् ।

पहिलो, शनिबारदेखि एक व्यक्तिले अर्को व्यक्तिलाई बैंक खातामा मोबाइल बैंकिङ वा कनेक्ट आईपीएस मार्फत भारु ट्रान्स्फर गर्न सक्ने भएका छन् । यस्तो कारोबारमा नेपालमा रहेका भारतीय नागरिकले प्रतिकारोबार १५ हजार र मासिक १ लाख भारु पठाउन सक्ने प्रधानले बताए ।

त्यसैगरी भारतमा रहेका नेपाली तथा भारतीयले नेपाली बैंकको खातामा पठाउन पाउने रकमको सीमा प्रतिकारोबार २ लाख भारु रहेको उनले जानकारी दिए ।

दोस्रो, ५ सयभन्दा कम दरका नोट २५ हजार रुपैयाँसम्म भारतीय र नेपालीले भारत लैजान वा भारतबाट ल्याउन पाउने व्यवस्था छ ।

तेस्रो, नेपालका बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्डमार्फत पनि नेपालीले भारतमा भुक्तानी गर्न सक्छन् । कार्डमार्फत भारतका एटीएमबाट दिनको १५ हजार भारुका दरले एक महिनामा बढीमा १ लाख भारुसम्म झिक्न सकिन्छ ।

कार्डबाट हस्पिटलको बिल, औषधि पसल र होटलको बिलबापत भुक्तानी गर्दा १० लाख रुपैयाँसम्म अनुमति लिनुपर्दैन । तर, त्यसभन्दा बढी भुक्तानी गर्नुपर्‍यो भने नेपालको बैंकमा जानकारी गराइ कार्डका माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।

सम्बन्धित् समाचार