गृहपृष्ठ Featured किसानबाट राजनीतिमा उदाएका घिमिरे कांग्रेस लुम्बिनी प्रदेशको उपसभापति, चार दशकदेखि राजनीतिमा सक्रिय

किसानबाट राजनीतिमा उदाएका घिमिरे कांग्रेस लुम्बिनी प्रदेशको उपसभापति, चार दशकदेखि राजनीतिमा सक्रिय

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ निवासी डोलकराम घिमिरे नेपाली कांग्रेसको देउवा पक्षबाट लुम्बिनी प्रदेश उपसभापतिमा सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट घिमिरे प्रदेश उपसभापति पदमा चयन भएका हुन् ।

सामान्य किसान परिवारमा जन्मिएर राजनीतिक यात्रा सुरु गरेका घिमिरेले चार दशकभन्दा लामो समय कांग्रेसको राजनीतिमा बिताएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले २०४२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए ।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पार्टीको विभिन्न गतिविधि, संगठन निर्माण तथा सामाजिक सेवासँग जोडिँदै अघि बढेको हो । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय घिमिरेले पार्टी र समाजका विभिन्न गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएका छन् ।

सादगी जीवनशैली, सहज व्यवहार र सामाजिक गतिविधिमा सक्रियताका कारण उनी स्थानीयस्तरमा परिचित छन् । राजनीतिलाई पद र प्रतिष्ठाभन्दा सामाजिक जिम्मेवारी तथा जनसेवाको माध्यमका रूपमा अघि बढाउँदै आएका घिमिरेको प्रदेश उपसभापतिमा चयनसँगै राजनीतिक चर्चा थप बढेको छ ।

किसान परिवारको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरी चार दशक लामो राजनीतिक यात्रा तय गरेका घिमिरेको प्रदेशस्तरीय जिम्मेवारीमा चयनलाई उनको राजनीतिक सक्रियता र निरन्तरताको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्रदेश उपसभापतिको जिम्मेवारीसँगै पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय कायम गर्ने तथा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी अब उनको काँधमा आएको छ ।

सम्बन्धित् समाचार