गाजाका बासिन्दाहरू भोकमरी र कठ्याङ्ग्रिँदो जाडोको दोहोरो चपेटामा परेका छन् । मानवीय सहायता पुग्ने क्रम केही बढे पनि गाजाको अवस्था अझै दर्दनाक रहेको संयुक्त राष्ट्र सङ्घका निकायहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
विश्व खाद्य कार्यक्रमको पछिल्लो प्रतिवेदन अनुसार गाजाको कुल जनसंख्याको ६७ प्रतिशत अर्थात् झण्डै १४ लाख मानिस अझै पनि भोकमरीको गम्भीर सङ्कटमा बाँच्न बाध्य छन् । राहत वितरणमा हुने अवरोध, अन्तर्राष्ट्रिय कोषको अभाव र बढ्दो जाडोका कारण थोरै देखिएको सुधार पनि जुनसुकै बेला गुम्न सक्ने जोखिम बढेको छ ।
भत्किएका संरचना र अस्थायी पालमुनि ओत लागेका गाजावासीको दैनिकी निकै कष्टकर बनेको छ । एकातिर चिसो सिरेटो छेक्ने न्यानो कपडा छैन भने अर्कोतिर एक छाक तातो खानाको जोहो गर्न घण्टौँसम्म राहतको लाइनमा उभिनुपर्ने बाध्यता छ ।
भोकले छटपटाइरहेका बालबालिका, गर्भवती र सुत्केरी आमाहरूको अवस्था झनै कारुणिक बन्दै गएको छ । विश्व समुदायले समयमै पर्याप्त सहायता नजुटाउने हो भने गाजामा भोकमरीले अझै भयावह रूप लिने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ ।







