केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मेरो शेयरको बेटा भर्सनको मोबाइल एप गूगल प्लेस्टोरमा अपलोड गरेको छ ।
गूगल प्लेमा अपलोड भएको एप रिभ्यु चरणमा रहेकाले अहिले नै लगानीकर्ताले डाउनलोड गर्न सक्दैनन् । गूगलले एप भेरिफाई गरेपछि मात्र ‘प्ले स्टोर’ मा एप उपलब्ध हुने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
निकट भविष्यमा माइ आश्वा सहितको सम्पुर्ण सुविधाहरु सामेल गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने सिडिएससीले जनाएको छ ।
सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणलाई लक्षित गर्दै परीक्षणका लागि मोबाइल एप लञ्च गरेको हो ।
सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एपमा अहिले आस्वा सेवा उपलब्ध हुने छैन । बेटा भर्सनको एपमा पोर्टफोलियो हेर्ने, शेयरको विद्युतीय हस्तान्तरण (इडिआइएस) लगायतका सेवा परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ ।
तत्काल साधारण शेयर निष्काशन नहुने अवस्थालाई हेरेर यो सुविधा एपमा समावेश नगरिएको न्यौपानेले बताए । केही समयको परीक्षण पश्चात बेटा भर्सनलाई हटाएर नियमित भर्सनको एप अपडेट भएपछि मात्र लगानीकर्ताले आस्वा सहित सबै सेवा पाउनेछन् ।
उक्त मोबाइल एप हाललाई एन्ड्रोइड मोबाइल तथा ट्याबलेटहरुमा मात्र उपलब्ध हुने बताइएको छ । परीक्षण पूरा गरी पूर्ण रुपमा एप सञ्चालनमा आएपछि मात्र एप्पलको एप स्टोरमा पनि एप उपलब्ध हुने सिडिएससीले जनाएको छ ।
एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न लगानीकर्तालाई आग्रह गरिएको छ । अन्य बेनामे र उस्तै देखिने एप भेटिएको खण्डमा त्यस्ता एप डाउनलोड गरी प्रयोग गरे लगानीकर्ताको विबरण सुरक्षित नहुने बताइएको छ ।
साथै कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको पनि सिडिएससीले प्रष्ट पारेको छ ।
पछिल्लो समय कोरोना संक्रमणका कारण दक्षिण एशियाली मुलुकमा जारी बन्दाबन्दीका कारण धेरै एप अपलोड हुन थालेपछि गूगलले सबै एपलाई रिभ्युमा राखेर निश्चित समयपछि मात्र डाउनलोड गर्न दिँदै आएको छ ।









