गृहपृष्ठ खबर दिल्लीविरुद्ध सानदार जित निकाल्दै मुम्बई आईपीएलको फाइनलमा

दिल्लीविरुद्ध सानदार जित निकाल्दै मुम्बई आईपीएलको फाइनलमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न पहिलो क्वालिफायर्सको खेलमा मुम्बईले दिल्लीमाथि ५७ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो। मुम्बईका लागि इसान किसनले अभिजित रहँदै सर्वाधिक ५५ रन बनाउँदा सूर्यकुमार यादवले ५१ रन बनाए। त्यस्तै क्विन्टन डि ककले ४० तथा आक्रामक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले १४ बलमा ३७ रन बनाए।

उता दिल्लीका लागि रबिचन्द्रन अश्विनले सर्वाधिक ३ विकेट लिए। त्यस्तै एनरिच नोर्टजे र मार्कस स्टोइनिसले समान १र१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा सीमित भयो।

दिल्लीको ब्याटिङ लाइन सुरुबाटै धर्मराएको थियो। सुरुवाती ब्याट्सम्यान पृथ्वी श, शिखर धवन र अजिन्क्य रहाणे शुन्य रनमै आउट हुँदा दिल्ली सुरुमै दबावमा आएको थियो। दिल्लीको खराब ब्याटिङलाई मार्कस स्टोइनिस र अक्षर पटेलले सम्हालेका थिए। स्टोइनिसले सर्वाधिक ६५ रन बनाउँदा पटेलले ४२ रन बनाए। त्यस्तै कागिसो रबाडा १५ रनमा अभिजित रहे।

दिल्लीलाई सस्तैमा समेटन मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिँदा ट्रेन्ट बोल्टले २ विकेट तथा क्रुनाल पाण्ड्या र किइरोन पोलार्डले समान १र१ विकेट लिए।

जितसँगै मुम्बइले १० नोभेम्बरमा हुने आईपीएल फाइनलमा स्थान बनाएको छ। त्यस्तै पराजयको बावजुत दिल्लीले पनि फाइनलमा पुग्नका लागि इलिमिनेटरको विजेता टोलीसँग अर्को क्वालिफायर्स खेल्ने मौका पाउने छ। दिल्लीले अर्को खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको विजेतासँग खेल्ने छ।

 

सम्बन्धित् समाचार