गृहपृष्ठ खबर अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतले जित्यो

अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतले जित्यो

सिड्नी : घरेलु टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टीमा सिरिज भारतले जितेको छ। आइतबार भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सिरिज २–० ले जितेको हो। एकदिवसीय सिरिजमा पराजित भएको भारतले टी–ट्वान्टी सिरिज जित्न सफल भएको हो ।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले जितका लागि दिएको १९५ रनको लक्ष्य भारतले २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्‍यो।

भारतका लागि शिखर धवनले अर्धशतकीय पारी खेले। ३६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए। त्यस्तै हार्दिक पाण्ड्याले ४२ रन बनाउँदा कप्तान विराट कोहलीले ४० रनको योगदान गरे। ओपनर के एल राहुलले ३० रन बनाउँदा सन्जु सामसनले १५ र श्रेयर ऐयरले अभिजित १२ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका लागि डेनियल श्याम्स, आन्द्रे टय र आदम जाम्पाले एक–एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि माथेइ वेडले अर्धशतकीय पारी खेले। ३२ बल खेलेका उनले १० चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए । त्यस्तै स्टिभ स्मिथले ४६ रन बनाउँदा मार्कुस हेनरिकेसले २६, ग्लेन म्याक्सवेल २२ तथा मार्कुस स्टोइनिसले १६ रन बनाए।

बलिङतर्फ भारतका लागि टी नटराजनले दुई विकेट लिए । त्यस्तै शार्दुल ठाकुर र युजभेन्द्र चहालले समान एक–एक विकेट लिन सफल भए । यसअघि पहिलो खेलमा भारत ११ रनले विजयी भएको थियो।

सम्बन्धित् समाचार