गृहपृष्ठ खबर हात्तीको आक्रमणले घाँस काट्दै गरेकी महिलाको मृत्यु

हात्तीको आक्रमणले घाँस काट्दै गरेकी महिलाको मृत्यु

विराटनगर : हात्तीको आक्रमणबाट मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको छ । जंगलमा घाँस काटिरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिका–१० की सीता पराजुलीलाई जंगली हात्तीले हमला गरेको थियो ।

खोर्साने सयपत्री टोलकी २८ वर्षीया पराजुलीको हात्तीले ज्यान लिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार लोहोन्द्रा साझेदारी वनमा पराजुलीलाई बिहान ९ बजेतिर आक्रमण गरेर घाइते बनाएको थियो । भुइँमा लडिरहेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा उनको दिउँसो डेढ बजेतिर मृत्यु भएको हो ।

स्थानीय चूडामणि नेपालका अनुसार हरेक मंगलबार उपभोक्ताका लागि घाँस र दाउरा संकलन गर्न पाउँछन् । छरछिमेकी र गाउँलेसँगै सीता पनि घाँस काट्न साइकल लिएर जंगल गएकी थिइन् । नेपालका अनुसार जंगल गएकामध्ये सीता र उनकी छिमेकी मीरा बोगटी केराबारी–खोर्साने सडकखण्डबाट पूर्व दक्षिणतर्फ घाँस काटिरहेका बेला एक्कासी हात्तीले आक्रमण गरेको थियो ।

सीता चिच्याएको सुनेपछि मीराले भागेर ज्यान बचाएकी थिइन् । मीराका अनुसार हात्तीले सुँडले उठाएर भुइँमा बजारेपछि सीता चिच्याएकी थिइन् । उनले चिच्याएको वनपालेले पनि सुनेका थिए । त्यसपछि हात्ती २र३ पटक कराएर पश्चिमतर्फ लागेको नेपालले बताए । घटनाका बेला बाक्लो हुस्सु लागेकाले हात्ती नजिकै आउँदा पनि सीताले नदेख्दा भाग्न नसक्दा गरेको मीराको ठम्याइ छ । घटनास्थल वरपर धेरै पाइला रहेकाले हात्तीको ठूलै समूह रहेको प्रहरीको अनुमान छ ।

 

सम्बन्धित् समाचार