गृहपृष्ठ खबर बाक्लो हुस्सु-कुहिरोले नेपालगन्जमा २ दिनदेखि १२० बढी उडान ठप्प

बाक्लो हुस्सु-कुहिरोले नेपालगन्जमा २ दिनदेखि १२० बढी उडान ठप्प

नेपालगन्ज : बाक्लो हुस्सु कुहिरोको कारण बुधबार र बिहीबार २ दिन नेपालगन्ज विमानस्थलमा ६० बढी विमानले उडान भर्न सकेनन् । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार खराब मौसमका कारण नेपालगन्ज–काठमाडौं उडान भर्ने बुद्ध, यति र श्रीएयरका २ दिनका १४ विमान प्रभावित भए ।

त्यत्तिकै संख्यामा काठमाडौं–नेपालगन्जका विमान पनि रद्द भए । नेपालगन्ज–काठमाडौंका ७२ सिटे विमान उड्छन् । काठमाडौंका लागि मात्र एक हजार भन्दा बढीको यात्रा प्रभावित भएको ठाकुरले प्रष्ट पारे । उनले भने, ‘काठमाडौं र पहाडी जिल्लाका गरी एकै दिन झन्डै १३ सय यात्री यात्रा गर्नबाट बञ्चित भए ।’

यत्तिकै संख्यामा यात्रीले बुधबार पनि उड्न पाएका थिएनन् । २ दिनदेखि यात्रीहरु विमान उड्ने आशामा विमानस्थल पुग्ने र विमान उडान रद्द भएपछि अपरान्हतिर निराश भएर फर्किरहेका छन् ।

नेपालगन्जबाट काठमाडौंको लागि बिहान ९:१५ बजेदेखि बेलुवा पौने ५:५० बजेसम्म बुद्ध, यति र श्रीएयरका ७ वटा ठूला विमानको उडान तालिका छ । बुधबार र बिहीबार ती सबै उडान रद्द भएका थिए । काठमाडौं– नेपालगन्जका लागि बिहान ८स्१५ बजेदेखि अपरान्ह ४:१० सम्म ७ वटा विमान आउँछन् ।

कुनै पनि विमानले नेपालगन्जमा उडान भर्न सकेनन् । नेपालगन्ज विमानस्थलबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, बाजुरा, बझाङ, अछामलगायतका जिल्लामा सीता, समिट र तारा एयरका आधा दर्जन साना विमानले दैनिक दुई दर्जन उडान भर्थे । त्यत्तिकै संख्यामा विमान नेपालगन्ज आउँथे । यी कुनै पनि विमानले उडान भर्न सकेनन् ।

विमान उड्नका लागि कम्तीमा पनि १६०० भिजिविलिटी चाहिन्छ । बुधबार यो वर्षकै सबैभन्दा कम २० मिटरको भिजिविलिटी थियो भने बिहीबार कम्तीमा २०० मिटरदेखि बढीमा १००० मिटरसम्म भिजिविलिटी भएको जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले बताए ।

नेपालगन्जमा बुधबार अधिकतम् तापक्रम १३.२ डिग्रीसेल्सियस र न्यूनतम् तापक्रम ८ डिग्री सेल्सियस थियो । बिहीबार तापक्रम केही वृद्धि भएको थियो । अधिकतम् तापक्रम १४ डिग्रीसेल्सियस र न्यूनतम् तापक्रम ११.५ डिग्री सेल्सियस पुगेको थियो । बाक्लो हुस्सु कुहिरोको कारण नेपालगन्जमा गाडीहरुले दिउँसै बत्ति बालेर चलाएका थिए ।

 

सम्बन्धित् समाचार