
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नमबर २ सितापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सितापुरको झिर्राका २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षिया छोरी सृष्टि घिमिरेको नाइनलको रसीले घाँटीमा कसेर हत्या गरेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
उनले सुतिरहेको बेला आफ्नी छोरीलाई मंगलबार दिउँसो १ बजेतिर रसीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले बताएको छ । घरमा सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएका थिए ।
सन्तोषकी श्रीमती घरायसी बिवादका कारण केही महिनादेखि माईत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ चौरीमा बस्दै आएकी छन् । छोरी सृष्टि बाबुसँग बस्दै आएकी थिईन् ।
दुई दिनअघि श्रीमतीलाई लिन बुद्धभूमि गएका थिए तर आउन मानिनन् । श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोंकमा एक मात्र आफुसँगै बसेकी छोरीको उनले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
सन्तोषलाई अहिले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।







