
काठमाडौं : नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्। एक विज्ञप्ती जारी गर्दै सोमबार हुने प्रदर्शनमा व्यापक सहभागिताका लागि अपिल समेत गरेका छन्।
‘प्रधानमन्त्री ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं,’ विज्ञप्तीमा उल्लेख छ, ‘यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ।’
संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता यी समग्र मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको जनाइएको छ। सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा सहभागिताको लागि अपिल समेत गरेको छ।
कांग्रेसका १३ भ्रातृ संस्थाका अध्यक्षरसभापतिले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर अपिल गरेका हुन्।








